पत्रकारिता प्रवर्द्धनमा प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहको भनाइ

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २७ गते । बर्दिबासमा आयोजित सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। सीमित साधनस्रोतका बाबजुद पनि प्रदेश सरकारले पत्रकारिता प्रवर्द्धनका लागि निरन्तर प्रयास गरिरहेको उनको भनाइ थियो।

मुख्यमन्त्री सिंहले पत्रकारितालाई समाजको ऐना भन्दै सत्यतथ्य सूचनाले राज्यका सबै निकायलाई आत्मसमीक्षा र सुधारको अवसर दिने बताए। साथै, महिला पत्रकारहरूको संख्यामा कमी रहेको भन्दै उनीहरूलाई पेशामा टिकाइ राख्न राज्यका निकाय र सामाजिक संघसंस्थाको सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा उनले स्वास्थ्य, शिक्षा, र रोजगारका अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको जानकारी गराए। निष्पक्ष पत्रकारिताको महत्त्व औंल्याउँदै उनले राजनीतिक पूर्वाग्रहबाट मुक्त रही पेसागत धर्म निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गरे। कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, नेपाल पत्रकार महासंघका पदाधिकारी लगायतले आ–आफ्नो धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?