भिट्टामोड सुख्खा बन्दरगाह निर्माणमा प्रचण्डको प्रतिबद्धता

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २२ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले महोत्तरीको भिट्टामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय सीमाना नजिक रहेको यस बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघद्वारा आयोजित छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन्।

अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु भएको उल्लेख गर्दै बाँकी प्रक्रियामा सहयोग गर्ने बताए। उनले माओवादी पार्टीद्वारा सञ्चालन गरिएको 'जनतासँग माओवादी, तराई मधेस जागरण अभियान'को उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्नु र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्नु रहेको स्पष्ट पारे। यस सन्दर्भमा, भिट्टामोड सुख्खा बन्दरगाह निर्माण अभियानको एजेन्डामा पर्ने उनले बताए।

जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात-निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै, यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक पर्ने बताए। साथै, उनले मणिपाल कलेजका लागि ३५ बिघा जग्गा स्थानीयबाट सस्तोमा लिएर अलपत्र छाडिएकाले तत्काल काम सुरु गर्न आवश्यक निर्देशन दिन अध्यक्ष प्रचण्डसँग आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?