मधेस केन्द्रित दलहरू भूमि सम्बन्धी अध्यादेशमा एकमत छैनन्

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १६ गते ।सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशमा मधेस केन्द्रित दलहरू एकमत हुन सकेका छैनन्। साझा मुद्दा र साझा एजेन्डामा एकसाथ उभिने भन्दै आठ दलीय मोर्चा गठन गरेका यी दलहरू भूमि सम्बन्धी अध्यादेशका सवालमा विभाजित देखिएका छन्। 

आठ दलीय मोर्चामा रहेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका विचार अध्यादेशको बारेमा अलगअलग छन्। अध्यादेशसँगै जिल्ला तहमा भूमि समस्या समाधान आयोग गठन गरिएको छ। ७७ जिल्लामध्ये कांग्रेस र एमालेले ३७–३७ वटा जिल्लामा आयोगको नेतृत्व पाएका छन् भने अशोक राई नेतृत्वको जसपाले २ र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले १ जिल्ला पाएका छन्। यस कारणले पनि जसपा र लोसपा नेपाल अध्यादेशप्रति नरम देखिएका छन्। 

अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई सुझाव दिएको छ। यसैगरी, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र डा.सीके राउत नेतृत्वको जनमुक्ति पार्टीले भूमि सम्बन्धी अध्यादेशलाई संशोधन गर्नुपर्ने प्रस्ट पारेका छन्। यद्यपि, यी दलहरूको समर्थन वा विरोधले संसदमा खासै महत्त्व राख्दैन, किनकि प्रतिनिधि सभामा कांग्रेस–एमाले गठबन्धन बहुमतमा छ। राष्ट्रिय सभामा भने सत्ता पक्षलाई अध्यादेश पारित गर्न जसपा नेपालको समर्थन आवश्यक पर्ने देखिन्छ। ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?