स्थानीय उत्पादन प्रवर्द्धनमा लालबन्दीको नयाँ व्यापारिक भवनको योगदान: उपप्रधानमन्त्री सिंह
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १२ गते । सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गत निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन आवश्यक रहेको बताउनुभएको छ। उहाँले उक्त भवनले स्थानीय युवाहरूलाई आफ्नै स्थानमा उत्पादन र व्यापार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उपप्रधानमन्त्री सिंहले भवन उद्घाटनपछि लालबन्दी नगरपालिकालाई हस्तान्तरण गर्नुभयो। उहाँले अर्थतन्त्रलाई सक्रिय बनाउन शहरी विकास मन्त्रालयले आवश्यक कार्यहरू गर्ने प्रतिबद्धता जनाउँदै, व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउन आग्रह गर्नुभयो। उक्त भवनले स्थानीय उत्पादनहरूको बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
तीन तल्लाको यो भवन संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको हो, जसमा भुइँतल्लामा १७ वटा व्यापारिक सटर, पहिलो तल्लामा ३ वटा च्याम्बर कोठा, तेस्रो तल्लामा एक च्याम्बर कोठा र हल, साथै सबै तल्लामा महिला र पुरुषका लागि शौचालय सुविधा उपलब्ध छन्। चार करोड ४१ लाख ५२ हजार नौ सय ७५ रुपैयाँ लागतमा सम्पन्न भएको यो भवनले लालबन्दी क्षेत्रको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments