प्रविधिमैत्री सोचले समाज परिवर्तन गर्न सक्छ : मन्त्री सिंह
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ११ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक प्रविधिको प्रयोग गर्दै तथ्यमा आधारित जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न नयाँ पुस्तालाई आग्रह गर्नुभएको छ। शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा नेपाली कांग्रेस सूचना तथा प्रचार विभागद्वारा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान’ विषयक कार्यक्रममा उहाँले प्रविधिको उचित उपयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो। साथै, युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा सक्रिय भई प्रविधिमैत्री कार्यशैली अपनाउन प्रेरित गर्नुभयो।
मन्त्री सिंहले संकटका समयमा नेपाली कांग्रेसले सदैव देशलाई समाधानतर्फ अघि बढाएको उल्लेख गर्दै पार्टीका विचार र नीतिहरू जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नु आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं अनुशासन विभागका अध्यक्ष आनन्दप्रसाद ढुंगानाले कांग्रेसको अस्तित्व संकटमा परेमा प्रजातन्त्र नै जोखिममा पर्ने दाबी गर्नुभयो। त्यस्तै, शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीका उपलब्धिहरूको प्रचारप्रसार गर्न तथा वर्तमान चुनौतीबारे छलफल गर्न देशव्यापी अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो।
कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई राष्ट्र निर्माणमा संलग्न गराउने, तथ्यमा आधारित जानकारी प्रदान गर्ने र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने रहेको आयोजकले जनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सजन ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहमहामन्त्री महेन्द्र यादव, सञ्चार विभाग प्रमुख मिन विश्वकर्मा, केन्द्रीय सदस्य चन्द्रमोहन यादव, प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रदेशका स्थानीय जनप्रतिनिधि तथा युवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments