मधेश प्रदेशका यातायात मन्त्री लाई आफ्नै पार्टीले सोध्यो स्पष्टीकरण
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ८ गते । नेपाली काँग्रेस सर्लाही जिल्ला अनुशासन समितिले क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री किशोर रायलाई पार्टीको मर्यादा र अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। मिति २०५९/००/०४ मा जारी पत्र (पत्र संख्या: ००१/०२) मा समितिले रायलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। राय हाल मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्री र क्षेत्र २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यसमेत हुन्। तर, उनले संघीय निर्वाचनदेखि हालसम्म पार्टीको अनुशासनलाई बेवास्ता गरेको गम्भीर आरोप लागेको छ।
जिल्ला अनुशासन समितिका संयोजक डा. सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, रायले फरक विचारधारा बोकेका राजनीतिकर्मी र नेताहरूका कार्यक्रममा सहभागिता जनाएको र ती मञ्चहरूबाट नेपाली काँग्रेस, यसका शीर्ष नेता र समग्र संगठनमाथि तथ्यहीन आरोप र अपमानजनक टिप्पणी गर्नेलाई समर्थन गरेको उजुरी परेको छ। सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिले ठोस प्रमाणसहित यो उजुरी दर्ता गराएको हो। यस्तो गतिविधिले पार्टीको बदनामी र संगठनलाई कमजोर बनाउने काम भएको समितिको ठहर छ।
यस विषयमा पार्टी विधानअनुसार अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्नसहित रायलाई स्पष्टीकरण पेश गर्न भनिएको छ। यो पत्रको बोधार्थ नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाही, प्रदेश कार्यसमिति मधेश प्रदेश (जनकपुर), र केन्द्रीय कार्यालय सानेपा (ललितपुर) लाई पनि दिइएको छ। समितिले रायको जवाफको आधारमा थप कदम चाल्ने संकेत गरेको छ, जसले पार्टीभित्र अनुशासनको मुद्दालाई लिएर ठूलो बहस सिर्जना हुने सम्भावना देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments