रास्वपाको सरकारप्रति प्रश्न: 'कूटनीतिक कमजोरीले नेपालीको आत्मसम्मान गुम्यो'
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको कूटनीतिक कमजोरीका कारण नेपाली नागरिकहरूको आत्मसम्मान गुम्दै गएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोलेका सांसद मनीष झाले सरकारको असफलताका कारण विदेशमा रहेका नेपालीहरू असुरक्षित रहेको बताए। भारतमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारप्रति सरकार मौन रहेको भन्दै उनले कडा आलोचना गरे। झाले कलेजका सुरक्षा गार्डले नेपाली विद्यार्थीलाई कुटपिट गर्नु र ‘तेरो देशको बजेट त यो कलेजको बजेटभन्दा कम छ’ भनेर अपमान गर्नु कूटनीतिक असफलताको संकेत भएको बताए।
सांसद झाले नेपाली कूटनीतिलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भारतस्थित नेपाली दूतावासमा रहेको सीमित जनशक्तिले त्यहाँ रहेका नेपालीहरूको उचित सुरक्षा गर्न नसक्ने बताए। उनले करिब २२ लाख नेपाली भारतमा विभिन्न कामका लागि रहेको र २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सन्दर्भ उठाउँदै मात्र १६ जना कर्मचारी भएको नेपाली दूतावासबाट उनीहरूको उचित व्यवस्थापन सम्भव नभएको बताए। रास्वपाले सरकारलाई कूटनीतिक रूपले प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै नेपाली नागरिकहरूको सुरक्षाका लागि ठोस कदम चाल्न माग गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments