पूर्वराष्ट्रपति यादवको चेतावनी: प्राकृतिक दोहनले मानव जीवन संकटमा

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ५ गते ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनका कारण मानव जीवन नै संकटमा पर्न थालेको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

‘म बनाउँछु नेपाल’ बहस कार्यक्रममा बोल्दै उहाँले पहाडमा भइरहेको अनियन्त्रित डोजर प्रयोग र तराईको चुरे क्षेत्रमा बढ्दो अवैध उत्खननले मुलुकको अन्न तथा जलको भण्डार मानिने तराई–मधेशमा हरेक वर्ष पानीको संकट गहिरिँदै गएको बताउनुभयो।

उहाँले चेतावनी दिँदै भन्नुभयो, “यदि यही अवस्था रहिरहे, केही दशकमा नेपालमा थप पानी अभाव हुनेछ र खाद्यान्न संकट निम्तिने खतरा छ। चुरेको दोहन तुरुन्त रोक्नुपर्छ र हरियाली पुनःस्थापित गर्न सबैको ध्यान जानुपर्छ।”

डा. यादवले पहाडमा डोजरको अनियन्त्रित प्रयोग तथा तराईमा अवैध क्रसर उद्योगको वृद्धिले प्राकृतिक विनाश तीव्र रूपमा बढाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिँचाइ सुधारका लागि चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोडको ठेक्का लगाइएको जानकारी दिनुभयो। साथै, स्वास्थ्य तथा प्राकृतिक स्रोतको दोहनमा भइरहेको अवैध क्रियाकलाप नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

मुख्यमन्त्री सिंहका अनुसार, डेढ अर्बको लगानीमा जडान गरिएका स्यालो ट्युबवेलमार्फत ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुर्याइनेछ। साथै, सडक सुरक्षामा प्रहरीसँगको सहकार्यले मधेस प्रदेशमा सवारी दुर्घटनामा ५० प्रतिशतले कमी आएको उहाँले दाबी गर्नुभयो।

नमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकको समृद्धि सुनिश्चित गर्नका लागि राजनीतिक स्थायित्व अत्यावश्यक रहेको बताउनुभयो।

त्यस्तै, चिकित्सक डा. ओम अनिल मूर्तिले हावा, पानी, माटो र वायुको सन्तुलन बिग्रिए मानव अस्तित्व नै संकटमा पर्ने भन्दै यी प्राकृतिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?