"नेपालमा भारतीय पर्यटक भित्र्याउन रणनीतिक पहल आवश्यक: मुख्यमन्त्री सिंह"
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २३ गते । नेपालमा भारतीय पर्यटकको आगमनलाई तीव्र पार्न रणनीतिक पहल आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बताएका छन्। जनकपुरधाममा आयोजित भारत–नेपाल पर्यटन सम्मेलनमा उनले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनले मधेश मात्र नभई समग्र नेपाललाई आर्थिक रूपमा फाइदा पुर्याउने बताए। उनका अनुसार, यदि अयोध्या भ्रमण गर्ने कम्तीमा ५० प्रतिशत भारतीय पर्यटक नेपाल भित्र्याउन सकियो भने पर्यटन क्षेत्रले उल्लेखनीय लाभ पाउनेछ।
मुख्यमन्त्री सिंहले रामायण सर्किट नेपाल–भारतको साझा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसलाई काठमाडौं, लुम्बिनी र पोखरासँग जोड्न सके नेपाललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन नक्शामा स्थापित गर्न सकिने बताए। भारतीय महावाणिज्य दूत देवी सहाय मिनाले पनि दुवै देशबीच धार्मिक पर्यटन प्रवद्र्धनलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनका अनुसार, जनकपुरधाम, पशुपति, लुम्बिनी, पोखरामा भारतीय पर्यटकहरूको चासो उच्च छ, भने नेपाली पर्यटकहरू भारतका धार्मिक स्थलहरूमा आकर्षित छन्, जसले दुवै देशलाई आर्थिक रूपमा लाभ पुग्न सक्छ।
पर्यटन प्रवद्र्धनका लागि नीति निर्माणको आवश्यकता रहेको नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्का सचिव अतुल कुमार ठाकुरले बताए। मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा अन्य विज्ञहरूले रामायण सर्किटको प्रभावकारी विकासका लागि नेपाल र भारतले साझा रणनीति अपनाउनुपर्नेमा जोड दिए। जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त सम्मेलन भारतीय महावाणिज्य दूतावास वीरगञ्ज, नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्, चेम्बर अफ कमर्स जनकपुरधाम तथा ईण्डिया–नेपाल सेन्टरको सहकार्यमा सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments