राष्ट्रिय सभामा बहुमत जुटाउन सत्तापक्षलाई चुनौती

3 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २२ गते ।  संसदमा पेश भएको अध्यादेश पारित गर्न प्रतिनिधि सभामा सहज बहुमत भए पनि राष्ट्रिय सभामा सत्तापक्षलाई समस्या पर्ने देखिएको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद आवश्यक पर्ने भए पनि सत्तापक्षसँग हाल २८ सांसद मात्र छन्। नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ सांसदसहित मनोनीत सांसद अञ्जन शाक्यको समर्थन रहे पनि बहुमत पुग्न अझै दुई सांसद आवश्यक देखिन्छ।

राष्ट्रिय सभामा बहुमत प्राप्त गर्न जसपाका तीन सांसदको समर्थन खोज्ने रणनीतिमा सरकार लागेको छ। जसपा हाल सरकारमा सहभागी नभए पनि अध्यादेशको सम्बन्धमा निर्णय गर्न पार्टीले सांसद राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको छ। उक्त कार्यदलको बैठक मंगलबार बस्ने र प्रतिवेदनका आधारमा संसदीय दलले आफ्नो निर्णय लिने तयारी गरेको छ।

विपक्षी गठबन्धनको पक्षमा राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८, र जनमोर्चाका १ सांसद रहेका छन्। राष्ट्रिय सभामा आवश्यक संख्या अभावका कारण सत्तापक्षलाई अध्यादेश पारित गर्न चुनौती थपिएको छ। जसपाले समर्थन गरेमा बहुमत सहज हुने देखिए पनि यसको औपचारिक निर्णय कार्यदलको प्रतिवेदनपछि मात्र आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?