संघीयता सुदृढीकरणका लागि संविधान संशोधन आवश्यक : नेता निधि

3 महीना पहिले प्रकाशित

जनकपुरधाम,माघ २० गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय प्रणालीलाई पूर्णता दिन संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्। शनिबार जनकपुरधाममा पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आयोजित संविधान संशोधनः आवश्यकता र चुनौती विषयक मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानमा रहेका केही प्रावधान परिमार्जन गर्नुपर्ने बताएका हुन्। वर्तमान संविधानले संघीयता स्वीकार गरे पनि व्यवहारिक रूपमा कार्यान्वयन गर्न चुनौती रहेको भन्दै उनले संशोधनमार्फत प्रदेश र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याए।

नेता निधिले संघीयताको सुदृढीकरणमार्फत मात्र विविधता र पहिचानको सम्मान हुन सक्ने बताउँदै संविधान संशोधनलाई कानुनी सुधार र समृद्धिको दिशामा सकारात्मक अवसरका रूपमा लिनुपर्ने धारणा राखे। उनले प्रदेशलाई पूर्ण अधिकारसहित सशक्त बनाउन र स्रोत साधनको उचित बाँडफाँड गर्न संशोधन आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले संविधान कार्यान्वयनका लागि कानुनी सुधार र राजनीतिक सहमतिको आवश्यकता औंल्याए। सहभागीले संविधान संशोधन प्रक्रिया सबै वर्ग, समुदाय र प्रदेशको हितमा अघि बढाउनुपर्ने माग राखेका थिए। कार्यक्रममा वरिष्ठ अधिवक्ता सूर्य ढुंगेल, धनुषाका लयर्स एसोसिएसन अध्यक्ष ललितकुमार झा, नेपाली कांग्रेसका आठ जिल्लाका सभापति, राजनीतिक विश्लेषक, कानुनविद् तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?