राजनीतिक स्थायित्व र आर्थिक संकट समाधानमा सरकारको प्राथमिकता: महासचिव पोखरेल
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १४ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टीहरू, एमाले र काङ्ग्रेसको सहकार्यमा बनेको सरकार मुलुकको राजनीतिक र आर्थिक संकट समाधानका लागि गठन भएको बताउनुभएको छ। बर्दिबासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक हस्तक्षेप र आर्थिक संकटका कारण निराशा छाएको अवस्थामा देशलाई सही मार्गमा डोर्याउने उद्देश्यले दुवै पार्टी एक ठाउँमा आएको स्पष्ट पार्नुभयो। उहाँले यस सहकार्यले सत्ता र शक्तिका लागि देखिएका अनावश्यक प्रतिस्पर्धालाई समेत निरुत्साहित गरेको उल्लेख गर्नुभयो।
महासचिव पोखरेलले सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह, भूमि समस्या समाधान र लगानीमैत्री वातावरण निर्माणका लागि अध्यादेश जारी गर्नु आवश्यक भएको बताउनुभयो। मुलुकमा व्याप्त आर्थिक संकटलाई सम्बोधन गर्न संसदीय प्रक्रियामा लाग्ने समयले अवरोध पुर्याउन सक्ने भन्दै तत्काल कानुनी सुधारका लागि अध्यादेश जरुरी रहेको उहाँको भनाइ छ। एमालेको ‘मधेश प्रदेश स्तरीय वडा केन्द्रित तीन महिने अभियान’को चर्चा गर्दै पोखरेलले ओली सरकारको कार्यकालमा मधेश क्षेत्रमा भएको विकासका उपलब्धिहरू दोहोर्याउनुभयो। अमेरिकी नीतिले नेपालको विकास निर्माणमा खासै प्रभाव नपार्ने भन्दै उहाँले नेपालका अधिकांश योजनाहरू विश्व बैंक र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमार्फत सञ्चालन भएकाले चिन्ताको कुनै कारण नभएको बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments