कानुन निर्माणमा तीनै तहका सरकारको जिम्मेवारी आवश्यक: मन्त्री लेखी
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कानुन निर्माणको सवालमा संघ, प्रदेश, र स्थानीय तहका सरकारहरू जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ। मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजित स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री लेखीले संघ सरकारले आवश्यक कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशलाई कामकाजमा समस्या भइरहेको बताउनुभयो। उहाँले संघीयताबाट देशले धेरै प्रगति गरेको भन्दै संघीयतालाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा धनुषाका १८ वटै पालिकाका कानुन मस्यौदा समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ। सहभागीहरूले कानुन निर्माणमा भएका समस्याबारे प्रस्तुति राखेका छन् भने नेपाल कानुन आयोगका सहसचिव गंगाबहादुर खरेलले प्रशिक्षण दिनुभएको छ। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव जयकुमार घिमिरे, र गृह मन्त्रालयका अन्य पदाधिकारीहरूले कार्यक्रमले स्थानीय तहलाई कानुन निर्माणमा सहजता पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments