प्रदेशलाई अधिकारबाट वञ्चित गरिएको गुनासो
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ६ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघ सरकारले प्रदेशलाई संविधानअनुसार पाउनुपर्ने धेरै अधिकारबाट वञ्चित राखेको आरोप लगाएका छन्। शनिबार जनकपुरस्थित महेन्द्र नारायण निधि भवनमा मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित ७औँ बलिदानी दिवस कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सहिदहरूको बलिदानले देशमा धेरै उपलब्धि दिलाए पनि प्रदेशहरूलाई संविधानले सुनिश्चित गरेका अधिकारहरू केन्द्रले अझै नदिएको गुनासो गरे। उनले केन्द्र सरकारले आफ्नो स्वार्थअनुसार अधिकार वितरण गरेर प्रदेश सरकारलाई पंगु बनाएको बताउँदै ठूला उद्योग सञ्चालन गर्न नपाउने अवस्थाप्रति पनि दुःख व्यक्त गरे।
सहिद परिवारका लागि विशेष कार्यक्रम
बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सिंहले सहिद परिवार र घाइतेहरूका लागि प्रदेश सरकारले ३ करोड ६१ लाख रुपैयाँ बजेट छुट्याएको जानकारी गराए। उनका अनुसार, सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख, सामान्य घाइतेलाई डेढ लाख, र अन्य घाइतेलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। साथै, सहिद परिवारका लागि बिमा कार्यक्रम र बच्चाहरूको उच्च शिक्षाका लागि छात्रवृत्ति योजना अघि सारिएको पनि उनले बताए। कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, र खेलकुद मन्त्री प्रमोद जैसवाललगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments