रौतहटमा मेयरविरुद्ध प्रदर्शन, भ्रष्टाचार र मनोमानीको आरोप

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ३ गते । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवविरुद्ध स्थानीयवासीले नाराबाजी र प्रदर्शन गरेका छन्। बुधबार नगरपालिकाको कार्यालय अगाडि भेला भएका प्रदर्शनकारीहरूले मेयर यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भ्रष्टाचार र मनोमानीको विरोधमा प्रदर्शन गरेका हुन्। उनीहरूले "भ्रष्टाचारी मेयर मुर्दावाद" र "भ्रष्टाचारीलाई कारबाही गर" जस्ता नारासहित सडक विस्तारको नाममा घर भत्काएर स्थानीयलाई दुःख दिएको आरोप लगाए।

स्थानीय अगुवा तथा पूर्ववडाध्यक्ष श्रीभगवान पटेलले मेयरले कुनै मापदण्ड निर्धारण नगरी मनोमानी ढंगले सडक विस्तारका क्रममा घर भत्काएको बताए। उनले मेयरले आफैँ लट्ठी लिएर स्थानीयलाई कुटपिट गरेको र घर तोडफोडमा संलग्न रहेको आरोप लगाए। आन्दोलनकारीहरूले मेयर यादवले विभिन्न विकास आयोजनामा गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र दोषीलाई कारबाहीको माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?