मिथिलाञ्चलमा तिला सङ्क्रान्ति पर्व धुमधामसँग मनाइँदै
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १ गते । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व परम्परागत हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि यस क्षेत्रका गाउँ र सहरका प्रत्येक घरमा विशेष चहलपहल देखिएको छ। संस्कृतिविद् ध्रुव राउतका अनुसार, यो पर्वमा घरका सदस्यहरूले चिउरा, भुजा, र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाँदै पर्वको शुभारम्भ गर्छन्। बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताएअनुसार खिचडी, दही, र चिउरा पनि यस दिनका विशेष भोजन हुन्। अनादीकालदेखि मनाइँदै आएको यो पर्व बिहानैदेखि नित्यक्रम पूरा गरी धार्मिक विधिपूर्वक मनाउने प्रचलन छ।
यहाँका गृहिणीहरूले केही दिन अघिदेखि नै तिल, चिउरा, र भुजाको लड्डु बनाउने तयारी गर्छन्। विनिता देवीका अनुसार, महिलाहरूको समूहले एकअर्कालाई सहयोग गर्दै लड्डु तयार पार्छन्, जसलाई आपसी मेलमिलाप र सहकार्यको प्रतीक मानिन्छ। घरका ज्येष्ठ सदस्यहरूले तिल, अरबा चामल, र सख्खर मिसाएर कुलदेवतालाई चढाउने परम्परा रहेको छ। त्यसपछि सोही प्रसाद घरका सबै सदस्यहरूले ग्रहण गर्छन्। चिउरा, भुजा, र तिलबाट बनेका लड्डु नातेदार र आफन्तहरूलाई कोसेलीका रूपमा पठाउने प्रचलनले यो पर्वलाई सामाजिक सद्भावको प्रतीक बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments