मधेश प्रदेशमा शहीद परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस २५ गते ।  मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले पुस ९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ। प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बुधबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गर्दै यो योजनाले १ हजार ८१ शहीद परिवारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रम मधेश आन्दोलनका शहीद, माओवादी जनयुद्धका शहीद, र जिउँदो शहीद परिवारका सदस्यहरूका लागि लक्षित छ। मन्त्री लेखीका अनुसार, यस कार्यक्रमले मेडिकल उपचारको आर्थिक भारबाट शहीद परिवारलाई राहत दिने उद्देश्य राखेको छ।

स्थानीय सेवा सुधारका लागि कार्यदल गठन

मन्त्री लेखीले स्थानीय सेवा र संरचनामा सुधारका लागि गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन गरिएको जानकारी पनि दिए। यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि कानुनी मस्यौदा तयार पार्नेछ। प्रदेश सरकारका यी प्रयासहरू संघीयता कार्यान्वयन र जनहितकारी सेवामा सुधारका लागि महत्त्वपूर्ण मानिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?