संघीयता कार्यान्वयनमा ढिलाइ नगर्न मन्त्री लेखीको आग्रह
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस २४। मधेश प्रदेशका गृह, सञ्चार, तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयता र संविधानको सफल कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघ धनुषाको समन्वय र आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा आयोजित साइबर सुरक्षा र एआईसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री लेखीले कानुन अभावका कारण प्रदेशका धेरै काम प्रभावित भएको बताए।
मन्त्री लेखीले प्रहरी समायोजनसहित संघीयता कार्यान्वयनका लागि संविधान निर्माण गर्ने दलहरू— काँग्रेस, एमाले, र माओवादीले अग्रसरता देखाउनुपर्नेमा जोड दिए। संविधान संशोधनको विषयमा चर्चा भए पनि ठोस काम अघि नबढेको भन्दै उनले संशोधन हुने विषयहरू स्पष्ट गर्न आग्रह गरे। साथै, पत्रकारको स्वास्थ्य र दुर्घटना विमाका काम अघि बढाएको जानकारी दिँदै, पत्रकारहरूलाई नकारात्मकभन्दा सकारात्मक समाचारलाई प्राथमिकता दिन आग्रह गरे।
साइबर सुरक्षा र एआईको महत्त्वमा चर्चा
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले विज्ञानले ल्याएको प्रगतिसँगै पत्रकारले आफूलाई परिमार्जित गर्नुपर्ने आवश्यकता औँल्याए। साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञानको महत्त्व उल्लेख गर्दै, उनले एआईको प्रयोग सकारात्मक उद्देश्यका लागि गर्नुपर्नेमा जोड दिए।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरूले संघीयता कार्यान्वयन, साइबर सुरक्षा, र सञ्चारका विविध पक्षमा आफ्ना धारणा राखे। प्रशिक्षण सत्रमा प्रशिक्षक जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments