राप्रपा धनुषामा बलियो बन्दै , हिन्दूत्वको प्रवद्र्धनमा राप्रपाको बलियो कदमः रीतेश सिंह सहित सैकडोद्वारा पार्टी प्रवेश

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २१ गते। प्रजातन्त्र स्थापनापछि पनि हिन्दु राष्ट्रको अवधारणा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मुलधारको राजनीतिमा निर्णायक भूमिका खेल्दै आएको छ। हिन्दूत्व र सनातन धर्मको मूल एजेन्डा अघि सारेको राप्रपाले पछिल्लो समय देशव्यापी संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यही अभियानका क्रममा धनुषामा युवा नेता रीतेश सिंह सहित थुप्रै नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं जनकपुर आइपुगेर रीतेश सिंहलाई पार्टीमा स्वागत गरे। विगत एक दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा लागेका सिंहको पार्टी प्रवेशले राप्रपाको धनुषा संगठनलाई थप बलियो बनाउने विश्वास गरिएको छ। हिन्दूत्व र सनातन धर्मको रक्षा गर्न अब राप्रपाले थप सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।

नवप्रवेसी नेता रीतेश सिंहले हिन्दूत्वमाथि भइरहेका आक्रमणबाट जोगिनु र सनातन धर्मको संरक्षण गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताए। उनले आफ्नो राजनीतिक यात्रालाई हिन्दू धर्म र संस्कृतिको प्रवद्र्धन तथा राष्ट्रिय एकता एवम् अखण्डता तर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। राप्रपामा प्रवेश गर्नु यसै दिशामा गरिएको ठोस कदम भएको उनको भनाइ छ।

पछिल्लो समय हिन्दूत्वको मुद्दाले देशभर प्राथमिकता पाइरहेको छ। धार्मिक सहिष्णुता र सनातन परम्पराको रक्षा गर्न पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंहले आफूले राप्रपाको झण्डामुनि हिन्दू धर्मको प्रवद्र्धनमा काम गर्ने बताए।

अध्यक्ष लिङ्देनले रीतेश सिंह र उनको सैकडौ समूहलाई पार्टीमा भित्र्याउँदै, हिन्दू धर्मको संरक्षणका लागि स्थानीयस्तरदेखि राष्ट्रिय स्तरसम्म व्यापक अभियान सञ्चालन गर्ने योजना रहेको बताए। उनले पार्टीका नयाँ सदस्यहरूलाई जिम्मेवारीसहित परिचालन गरिने बताएका छन्। पार्टीमा युवाहरुको प्रवेशले पार्टीलाई थप उर्जावान बनाउने उनले बताए ।

राप्रपाको देशव्यापी संगठन विस्तार अभियानमा धनुषा जिल्ला थप सक्रिय बनेको छ। हिन्दू धर्म, संस्कृति, र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै पार्टीले राजनीतिक स्थायित्व र धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यका साथ अघि बढ्ने बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?