मधेसको एकता: सहकार्य र मोर्चाबन्दीको विकल्प
6 महीना पहिले प्रकाशित

काठमाडौं, पुस २१ गते । मधेसी दलहरूबीच पछिल्लो समय एकता र सहकार्यका लागि छलफल र भेटवार्ता तीव्र बनेका छन्। यद्यपि, दलका नेताहरू पूर्ण एकताभन्दा मोर्चा बनाएर अघि बढ्ने सोचमा सकारात्मक देखिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष अनिलकुमार झाले मधेसमा गठबन्धन बनाउन सबै पक्षले तयार हुनुपर्ने बताए। राजधानीमा आयोजित एक कार्यक्रममा उनले सहकार्यका लागि आलोचना र दोषारोपणभन्दा माथि उठ्नुपर्ने धारणा राखे।
जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजकिशोर यादवले मधेसवादी दलहरूबीच विशेष प्रकारको सहकार्य अपरिहार्य रहेको बताए। उनले नेपालमा बदलिँदो राजनीतिक परिदृश्य र अन्तर्राष्ट्रिय परिवेशले मधेसको रणनीतिमा पनि प्रभाव पारेको भन्दै त्यसअनुसार सोच्नुपर्ने औंल्याए। अधिकारका लागि मधेसको लडाइँको स्वरूप परिवर्तन गर्नुपर्ने र संघर्ष अपरिहार्य रहेको उनले जोड दिए। लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णले विगतका कमजोरीलाई बिर्सेर सहकार्य र एकताको प्रयासमा सबै जुट्नुपर्ने तर्क गरे।
कार्यक्रम संयोजक मधेसी युवा संजय यादवले दलहरूबीचको एकता वा सहकार्यलाई अनिवार्य ठहर गरे। उनले एउटै मुद्दा र उद्देश्य भएका पार्टीहरू अलग-अलग लड्नुभन्दा एकताबद्ध भएर संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे। जनता समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पनि आवश्यक पर्दा पार्टीहरू एउटै मञ्चमा आउनुपर्ने बताउँदै, सहकार्य र एकताका लागि देशको परिस्थिति अनुसार अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्। सहकार्य र मोर्चाबन्दीका लागि पहल र प्रयास तीव्र बनिरहेको यो समय मधेसको राजनीतिक भविष्यका लागि निर्णायक हुनसक्छ।
कमेन्ट गर्नुहोस्
view comments