नेपाललाई थप हवाई रुट आवश्यक: परराष्ट्रमन्त्री आरजु राणा

2 दिन पहिले प्रकाशित

काठमाडौँ ,पुस ५ गते ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले भारतबाट अतिरिक्त हवाई रुटको आवश्यकता महसुस गरेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत-नेपाल आर्थिक सम्मेलनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि थप हवाई रुट आवश्यक रहेको जानकारी गराइन्। उनले यी विमानस्थलहरू महत्त्वपूर्ण पर्यटकीय केन्द्र मात्र नभई नेपाल र दक्षिण एसियाको सम्पर्क सञ्जाल विस्तार गर्नका लागि पनि महत्त्वपूर्ण भएको बताइन्।

मन्त्री राणाले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा थप उडान गर्न आग्रह गर्दै नेपाल सरकार यसका लागि सहुलियत दिन तयार रहेको जनाइन्। उनले धार्मिक पर्यटन प्रवर्द्धनमा रामायण सर्किट र बुद्ध सर्किटजस्ता परियोजनाको महत्त्व उल्लेख गर्दै संयुक्त सहकार्यबाट नेपाल-भारतबीचको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन सकिने धारणा व्यक्त गरिन्। साथै, सम्मेलनमा मन्त्री राणाले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्दै सीमापारका ठूला पूर्वाधार परियोजनाहरूले दुई देशबीच आर्थिक सहकार्यलाई थप गतिशील बनाएको स्मरण गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?