गृहमन्त्री लेखक: अनुसन्धानमा अनुहार होइन, विधि र कानुन प्राथमिकता
4 दिन पहिले प्रकाशित
काठमाडौँ, पुस ३ गते । गृहमन्त्री रमेश लेखकले आपराधिक अनुसन्धानमा अनुहार हेर्ने होइन, विधिसम्मत र कानुनसम्मत प्रक्रिया अपनाइनुपर्ने बताएका छन्। आज रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक हस्तक्षेपविना अनुसन्धानलाई न्यायसंगत बनाउनुपर्नेमा जोड दिए। शान्ति सुरक्षासँग जोडिएको प्रहरी सङ्गठनलाई कसैको स्वार्थ वा हानि-लाभका लागि दुरुपयोग गर्न नहुने उनको भनाइ थियो।
गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए। उनले पछिल्लो समय सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न सयौँ अभियुक्तमाथि अनुसन्धान भई कारागार पठाइएको उल्लेख गरे। अभियुक्तलाई चितवनबाट पोखरा लैजाँदा मानव अधिकार उल्लङ्घन नगरेको प्रस्ट पार्दै उनले ठगीले लाखौँ मानिसको जीवन प्रभावित हुँदा त्यो मानव अधिकार उल्लङ्घन मान्नुपर्ने हो कि होइन भन्दै प्रश्न गरे। गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याई कारबाही अघि बढाउनेतर्फ सरकार प्रयत्नशील रहेको पनि उनले बताए।
कमेन्ट गर्नुहोस्
view comments