पिएल सिंहको निधनमा कांग्रेसको श्रद्धाञ्जलि, तीन दिनसम्म आधा झन्डा झुकाउने
6 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १ गते । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर र पार्टीका वरिष्ठ नेता पिएल सिंहको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै देशभरका पार्टी कार्यालयहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पुस १, २ र ३ गते पार्टी केन्द्रीय, प्रदेश, र जिल्ला कार्यालयमा आधा झन्डा झुकाउने तथा मंगलबार कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १३औं दिनमा काठमाडौंमा शोकसभा आयोजना गरिनेछ।
२०४९ सालमा प्रजातन्त्र पुनस्र्थापना पछिको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित पिएल सिंहले नगरलाई महानगरपालिका घोषणा गराउन नेतृत्वदायी भूमिका खेलेका थिए। गणेशमान सिंहका निकट सहयोगीका रूपमा लामो समय काम गरेका सिंह २०५६ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका थिए। उनी नेपाली राजनीतिमा कुशल प्रशासक र नेतृत्वदायी व्यक्तित्वका रूपमा स्मरणीय रहँदै आएका छन्। सिंहको गएराति चाक्सीबारीस्थित निवासमा निधन भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments