नेपाल पत्रकार महासंघमा ऐतिहासिक महिला नेतृत्व: निर्मला शर्मा अध्यक्ष निर्वाचित

7 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर ३० गते । नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छिन्। प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट उम्मेदवारी दिएकी निर्मला शर्माले अध्यक्ष पदमा जित हासिल गरेकी हुन्। यसअघि पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी शर्माले यस पटक प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सयभन्दा बढी मतान्तरले पराजित गरेकी हुन्। निर्वाचन आयोगका अनुसार, आधिकारिक घोषणा नभए पनि निर्मला शर्माको जित सुनिश्चित भइसकेको छ।

निर्वाचनमा शर्माको प्यानलका अधिकांश पदाधिकारी विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमेदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, र सचिवहरूमा के.सी. लामिछाने सहितका उम्मेदवार निर्वाचित भएका छन्। तर, कोषाध्यक्ष पदमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेस विद्रोही प्यानलका रामकृष्ण अधिकारी विजयी भएका छन्।

गत शुक्रबार देशभरका जिल्ला र प्रदेश शाखाहरूमा एकैसाथ निर्वाचन सम्पन्न भएको थियो। अधिकांश स्थानमा पनि शर्माको समूहका उम्मेदवारहरू विजयी भएका छन्। निर्मला शर्माको जितले महासंघको इतिहासमा महिलाको नेतृत्वलाई स्थापित गर्दै पत्रकारिता क्षेत्रमा नयाँ युगको शुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?