नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको दुरुपयोगको आरोप
7 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर ३० गते । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ। संगठनका अध्यक्ष विश्वमणि सुवेदीद्वारा आइतबार जारी विज्ञप्तिमा मतगणना प्रक्रियामा अनियमितता र सत्ता गठबन्धनको हस्तक्षेपले गम्भीर चिन्ता उत्पन्न भएको उल्लेख छ। विज्ञप्तिमा शनिबार राति महासंघ केन्द्रीय कार्यालयमा उम्मेदवारहरूले नै तालाबन्दी गरेको घटनाले निर्वाचन प्रक्रिया प्रभावित भएको आरोप लगाइएको छ। साथै, प्रहरीको कमाण्डमा कार्यालय पुगेर मतगणना स्थगित गराइएको र तालाबन्दी गरिएको घटनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको भन्दै संगठनले खेद प्रकट गरेको छ।
विज्ञप्तिमा अछाममा मतगणनाका क्रममा सुदूरपश्चिम प्रदेश समितिका महासचिवका उम्मेदवार हरि जोशीको जित निश्चित भएपछि बिना प्रतिनिधि एकलौटी मतगणना गरिएको भन्दै विरोध जनाइएको छ। यस प्रकारका कार्यप्रति आपत्ति जनाउँदै संगठनले निष्पक्ष र विश्वसनीय प्रक्रियाको सुनिश्चितताका लागि तत्काल नयाँ मतगणनाको व्यवस्था गर्न माग गरेको छ। अन्यथा, समाजवादी प्रेसले प्रतिवादका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments