रास्वपाको आरोप: "रवि लामिछानेलाई राजनीतिक प्रतिशोधस्वरूप लक्षित गरिएको"

26 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई थुनामा राखेर सुनियोजित रूपमा बदनाम गर्न प्रयास भइरहेको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनीष झाले, "सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबाट भाला हानेजस्तै काम भइरहेको छ," भन्दै अनुसन्धान प्रक्रियालाई पूर्वाग्रही रूपमा हाँकिएको संकेत गरे।

झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरेको चेक भेटियो’ भन्ने दाबीलाई समेत प्रश्न उठाउँदै त्यस विषयलाई सहकारीको किस्ता तिर्न प्रयोग गरिएको हुन सक्ने बताए। उनले नागरिक समाज र बुद्धिजीवीहरूको आग्रहमा पार्टीले सडक आन्दोलन रोक्ने निर्णय गरेको जनाउँदै, "लोकतन्त्रमा विश्वास राख्नेहरूका आग्रहलाई सम्मान गर्दै हामी चुप बसिरहेका छौं," भने।

रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध आरोपमा कास्की प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो। अदालतबाट पाँचपटक म्याद थप गराउँदै अनुसन्धान जारी राखिएको छ। तर रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधको लक्ष्य बनाइएको आरोप लगाउँदै अदालतको विषयलाई राजनीतिक भाष्यका रूपमा प्रचार गरिएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?