शान्ति, अनुशासन र लोकतन्त्रका लागि सुरक्षा प्रणालीलाई सुदृढ बनाउन निर्देशन
1 महीना पहिले प्रकाशित
काठमाडौं, मंसिर ४ गते । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन अनिवार्य रहेको बताएका छन्। मंगलबार कैलालीको धनगढीमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले मुलुकको प्राथमिक आवश्यकता शान्ति स्थापना भए पनि त्यसलाई मर्यादित र अनुशासित बनाउन सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो। मन्त्री लेखकले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभयो।
उहाँले लोकतन्त्रको रक्षा र सुदृढीकरणलाई सबैको दायित्व ठहराउँदै लोकतान्त्रिक प्रणालीमा अनुशासनलाई अनिवार्य तत्वका रूपमा वर्णन गर्नुभयो। साथै, उहाँले सीमा नाकामा राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद् व्यवस्थापन, र सवारी दुर्घटनाका घटना न्यूनीकरण गर्न गम्भीर भएर काम गर्न आग्रह गर्नुभयो। गोष्ठीमा सुदूरपश्चिमका ९ जिल्लाका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, गृह मन्त्रालयका सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। मन्त्री लेखकले सुरक्षा निकायहरूलाई थप सक्रियता र प्रभावकारीता अपनाउन निर्देशन दिंदै, अहिले गरिरहेको काम पर्याप्त नभएको बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments