काठमाडौंमा नेपाल–भारत सीमा सुरक्षा समन्वय उच्चस्तरीय बैठक शुरू
1 महीना पहिले प्रकाशित
काठमाडौं, मंसिर २ गते । काठमाडौंमा नेपाल–भारत सीमा सुरक्षा समन्वयसम्बन्धी उच्चस्तरीय बैठक शुरू भएको छ।
सोमबारसम्म जारी रहने यस बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र तेस्रो देशका नागरिकको अवैध प्रवेश रोक्नका लागि ठोस निर्णय हुने अपेक्षा गरिएको छ। बैठकमा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षासम्बन्धी विभिन्न मुद्दाहरू प्रस्तुत गरेका छन्।
नेपालको तर्फबाट सीमा क्षेत्रका अपराध नियन्त्रण, सूचना आदान–प्रदान, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रण तथा तेस्रो देशका नागरिकको अवैध प्रवेश रोक्ने विषयमा प्रस्तावहरू पेस गरिएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व एपीएफ प्रमुख अर्यालले गरिरहेका छन्। यस प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभाग, नापी विभाग, र परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरू सहभागी छन्।
यस्तै, भारतका तर्फबाट सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृत मोहन प्रसादको नेतृत्वमा छ सदस्यीय भारतीय प्रतिनिधिमण्डल बैठकमा सहभागी छ।
कमेन्ट गर्नुहोस्
view comments