भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको नेपाल भ्रमण: पाँच दिने औपचारिक कार्यक्रम

1 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक २८ गते । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएअनुसार मंसिर ५ देखि ९ सम्मको पाँच दिने भ्रमणको क्रममा उनले नेपाली सेनाका विभिन्न गतिविधिहरूमा सहभागिता जनाउनेछन्।

भ्रमणको क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने, र प्रधानसेनापति सिग्देलसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। साथै, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गर्ने र पश्चिम पृतना हेडक्वार्टरको भ्रमणमा जाने पनि उनको कार्यक्रमको हिस्सा रहेको छ।

यसै अवसरमा, मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहमा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन्। भ्रमणको क्रममा सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट पनि गर्नेछन्, जसबाट नेपाल र भारतबीचको सैनिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?