रास्वपाले दोस्रो चरणको आन्दोलनको तयारीमा छलफल जारी
काठमाडौं, कार्तिक २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले दोस्रो चरणको सडक आन्दोलनको कार्यक्रम आज साँझसम्म तय गरिने जानकारी दिएका छन्। पोखरामा रहेका अर्यालले रातोपाटीसँग कुराकानी गर्दै आन्दोलनको दिशासम्बन्धी छलफल जारी रहेको बताए। आन्दोलन परिचालन समिति संयोजकसमेत रहेका उनले यसका लागि पार्टी सभापति रवि लामिछानेसँग विचार-विमर्श गरिने जनाए। लामिछाने हिरासतमा रहेका भए पनि समय मिलाएर बैठक गर्ने तयारी भइरहेको उनले उल्लेख गरे। साथै, काठमाडौँमा रहेका उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई पनि छलफलका लागि पोखरा बोलाएको अर्यालले जानकारी दिए।
रास्वपाले शनिबार बसेको केन्द्रीय समितिको बैठकमा मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त तथा मिटर ब्याज पीडितहरूको समस्या समाधान, प्रवासी नेपालीहरूको सहभागिता तथा संविधान संशोधनका विषयमा केन्द्रित रहेर दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको थियो। सभापति लामिछानेलाई गोरखाको एक सहकारीको रकम अपचलनको आरोपमा छानबिन समितिको प्रतिवेदनपछि हिरासतमा राखिएको छ, र म्याद १३ दिन थपिएको छ। सोही कारण, आन्दोलनको नयाँ कार्यक्रम तय गर्न रास्वपाले तयारीका साथ छलफल गरिरहेको अर्यालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments