मिथिलाञ्चलको अनोठो पर्व: सामा चकेवा

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २५ गते । मिथिलाञ्चल क्षेत्रमा संस्कृति र चाडपर्वहरूको गहिरो सम्बन्ध पाइन्छ, जहाँ विविध परम्पराहरूको माध्यमबाट जीवनका आदर्श र कलात्मक पक्षहरूको संरक्षण गरिएको छ। मैथिली समाजमा लगभग प्रत्येक महिनामा कुनै न कुनै चाडपर्व मनाइन्छ, र यसै क्रममा कार्तिक महिनामा सामा चकेवा पर्वको रौनक विशेष देखिन्छ। यस पर्वमा साँझको शीतल वातावरणमा स–साना माटाका मूर्तिहरू बनाई गीत–संगीतका साथ सामा चकेवाको रमझम गरिन्छ।

सामा चकेवा पर्व मिथिलाञ्चलका चेलीबेटीहरूले विशेष उत्साहका साथ मनाउने लोक पर्व हो, जसमा माटोबाट बनाइएका कलात्मक मूर्तिहरूको प्रयोग गरिन्छ। यो पर्व कार्तिक शुक्ल पञ्चमीदेखि सुरू भई १० दिनसम्म मनाइन्छ। सामा चकेवा पर्वमा लोकगीत गाएर चेलीबेटीहरूले आफ्नो सखी सहेलीहरूसँग मिलेर सन्ध्याकालीन शरद ऋतुको वातावरणलाई संगीतमय बनाउँछन्। यस पर्वको मुख्य उद्देश्य साम्ब र श्यामा बिचको प्रेम सम्बन्धलाई सम्झना गर्नु हो, जसलाई पद्यमपुराण र स्कन्दपुराण जस्ता धार्मिक ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ।

पछिल्लो समयमा मिथिलाञ्चलको यो लोक पर्व लोप हुने अवस्थामा पुगेको छ। मिथिलाञ्चलको सांस्कृतिक महत्वका साथ पर्यटन विकासका लागि पनि सामा चकेवा पर्वको संरक्षण आवश्यक रहेको कतिपयको भनाइ छ। भाइबहिनीको स्नेहको प्रतीकको रूपमा रहेको यस पर्वमा भाइले बहिनीले बनाएका मूर्तिहरूलाई तोडेर विसर्जन गरिन्छ, र अन्तमा बहिनीले भाईलाई विशेष भोजन गराउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?