धनुषामा एकै परिवारका तीन बालबालिकाको विष सेवनबाट मृत्यु, आमा गम्भीर

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ९ गते ।  धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एक हृदयविदारक घटना घटेको छ। विष सेवनका कारण सुशील साहका तीन सन्तानको ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर अवस्थामा छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतकमा ६ वर्षीय आदित्य साह, ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसी साह छन्। आमा पविता साहको अवस्था चिन्ताजनक छ र उनी अहिले प्रादेशिक अस्पताल जनकपुरधामको भेन्टिलेटरमा उपचाररत छिन्।

सोमबार साँझ करिब ६:४० बजे आमासहित सबै सन्तान विष सेवन गरेको अवस्थामा फेला परेका थिए। तत्काल स्थानीयको सहयोगमा अस्पताल पुर्‍याइए पनि तीनै बालबालिकाको बाटैमा मृत्यु भइसकेको थियो। घटनाको जानकारी राति पौनै ९ बजे मात्र प्रहरीलाई प्राप्त भएको जनाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण पविता साहले आफ्ना तीन सन्तानलाई विष खुवाएर हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ। प्रहरी घटनाको थप अनुसन्धानमा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?