तराई-मधेसमा छठ पर्वको रौनक सुरु, तयारीमा जुटे स्थानीयवासी
जनकपुरधाम, कार्तिक १९ गते । तिहार सकिएसँगै तराई-मधेसका विभिन्न ठाउँमा छठ पर्वको रौनक सुरु भएको छ। विशेषगरी सन्तान प्राप्ति, रोग निवारण र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई मानवताको पर्व मानिन्छ, जसले सबै जीवप्रति सहानुभूति र अहिंसाप्रति रुचि जगाउने विश्वास छ। वीरगञ्जसहित विभिन्न शहरमा कात्तिक शुक्लपक्षको चौथी तिथिदेखि विधिवत् रूपमा सुरु हुने छठका लागि तयारी भइरहेको छ।
छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेलमा बजार भरिभराउ छ। बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका भाँडासहित नरिवल र सख्खर खरिद गर्न सर्वसाधारण व्यस्त देखिन्छन्। गाउँ तथा शहरका पोखरी, इनार, तालतालैयाहरूलाई छठको भव्यताको लागि सिंगार्न थालिएको छ। पर्साको चर्चित घडीअर्वा पोखरी, रानीघाट र मुडीमा छठका लागि विशेष सजावट गरिएको छ, जसले पर्वलाई थप आकर्षक बनाइरहेको छ।
चार दिनसम्म चल्ने छठ पर्वको विशेष विधि र नियम छन्। पहिलो दिन नुहाएर चोखो खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिन्छ। यो अवधिमा छठ व्रतालुले माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामलजस्ता खाद्य पदार्थ अनिवार्य रूपमा परहेज गर्छन्, जसले यो पर्वलाई विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments