मिथिलाञ्चलमा दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै भैयादुज पर्व हर्षोल्लासका साथ मनाउँदै
जनकपुरधाम, कार्तिक १८ गते । मिथिलाञ्चलमा आज आइतबार दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै भैयादुज पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा यो पर्व मनाउने मैथिल परम्परा छ। मिथिलामा भैयादुजलाई भरद्वितीया वा भातृद्वितीया पनि भनिन्छ। यस दिन विवाहित दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई आफ्नै घरमा आमन्त्रण गरी पूजन र आशीर्वाद दिने चलन रहेको छ।
भैयादुजको परम्परामा दिदीबहिनीहरूले पिठार (अरवा चामलको पिठो) को प्रयोग गरी अरिपन (चतुष्कोण आकृति) बनाई त्यस भित्र दाजुभाइलाई बसाल्छन्। थाकेका दाजुभाइको गोडा धोएर पिठार र पानको पातमा सुपारी राखेर सप्तरङ्गी टिका लगाउने मैथिल परम्परा छ। यसपछि दिदीबहिनीहरूले गङ्गा र यमुनाको जस्तै वेग र समर्पण दाजुभाइलाई मिलोस् भनी गीत गाएर कामना व्यक्त गर्दछन्।
अर्को विशेष परम्परामा दिदीबहिनीहरूले दाजुभाइलाई सुकेको केराउको दाना "बजरी" खुवाउँछन्। मिथिलाका विद्वान डा. राजेन्द्र विमलका अनुसार, बजरी खुवाउने विधिको भाव दाजुभाइको शरीर बज्रजस्तो कठोर होस् भन्ने रहेको छ। त्यसपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण वा नगद दक्षिणा राखिदिन्छन्। अन्त्यमा दिदीबहिनीहरूले मिठाइ र लड्डु खुवाएर पर्व सम्पन्न गर्छन्।
मिथिलाञ्चलमा साउन पूर्णिमा, भैयादुज र सामाचकेवा जस्ता पर्वहरूले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै आएको छ। यस पर्वमा गाउँ तथा सहरका चौबाटामा लोकगीत गाउने, नाचगान गर्ने परम्पराले एक आपसमा प्रेम र समर्पणको भाव अझै सुदृढ बनाउने काम गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments