सिंहदरबार वैद्यखाना समितिको अवस्था देशको दर्पण हो : मेयर बालेन्द्र शाह
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक १४ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको वर्तमान अवस्थामा चिन्ता व्यक्त गर्दै यसले देशको समग्र अवस्थाको चित्रण गर्ने बताएका छन्। राष्ट्रिय आरोग्य दिवस, धन्वन्तरि दिवस, र वैद्यखाना समितिको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मेयर साहले वैद्यखानाजस्तो महत्वपूर्ण संस्था आज गम्भीर समस्यामा परिरहेकोमा दु:ख प्रकट गरे।
मेयर शाहले देशको अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने क्षमता बोकेको सिंहदरबार वैद्यखाना आफैँ कमजोर र अस्तव्यस्त भएको अवस्था दुखद् रहेको बताए। उनले भने, “देश अहिले किन र कसरी समस्यामा परेको छ भन्ने बुझ्न सिंहदरबार वैद्यखाना हेरे पुग्छ। ९० प्रतिशत सरकारी उद्योग भाडामा चलाउन थालिन्छ, भाडामा दिन नसकिए निजी संस्थाको प्रभावमा आएर अन्ततः धराशयी बनाइन्छ।”
उनले आयुर्वेदिक पद्धतिलाई हाम्रो संस्कृति र परम्परा भन्दै वैद्यखाना जोगाउन सामूहिक पहलको आवश्यकता औँल्याए। “आयुर्वेद हाम्रो सनातन संस्कृतिसँग गहिरो सम्बन्ध राख्छ। यसको संरक्षण हाम्रो कर्तव्य हो,” साहले भने।
कार्यक्रममा आफ्नो बाल्यकाल वैद्यखाना परिसरमै बिताएको स्मरण गर्दै मेयर साहले यस संस्थाको सुधार र पुनर्जागरणका लागि सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराए। “पहिले यहाँ धेरै खुला स्थान थियो र औषधि उत्पादन पनि पर्याप्त थियो, अहिले भवनहरू त छन् तर उत्पादन कम भएको छ। २०५८/५९ सालमा यस संस्थाको बजेट पाँच करोड थियो, अहिले घटेर मात्र एक करोड रहेको छ,” उनले भने।
कमेन्ट गर्नुहोस्
view comments