माओवादी लडाकू शिविरमा भ्रष्टाचार आरोप: प्रचण्डसहित १३ जनाविरुद्ध उजुरी दर्ता

2 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक १४ गते ।  माओवादी लडाकूहरूका नाममा शान्ति प्रक्रियाको क्रममा अस्थायी शिविरमा छुट्याइएको रकममा भएको भनिएको घोटालाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १३ जनाविरुद्ध मङ्गलबार युवराज पौडेल ‘सफल’ले उजुरी दर्ता गरेका हुन्।

उजुरीमा प्रचण्डका साथ उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, लडाकू कमान्डर चक्रपाणि खनाल र अन्य नौ माओवादी नेताहरूको नाम समावेश गरिएको छ। अन्य आरोपितमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही पनि छन्।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछिको सेना समायोजन प्रक्रियामा माओवादी लडाकूहरूलाई सेनाको पोशाकमा फोटो खिचाएर अतिरिक्त रकम निकासा गरिएको आरोप लगाइएको छ। उजुरीकर्ताले माओवादी अध्यक्ष प्रचण्डको ७ हजार लडाकूलाई ३५ हजार पु¥याइएको दाबी गर्ने भिडियो प्रमाणसमेत पेश गरेका छन्। उजुरीका अनुसार, यो कार्यमा भेरिफिकेसन प्रक्रियामा थप २० हजार लडाकू समावेश गरेर भ्रष्टाचार गरिएको दाबी गरिएको छ।

पौडेलको उजुरीमा माओवादी शिविर व्यवस्थापनमा ६ वर्षको अवधिमा २० अर्ब खर्च गरिएको र त्यसमा अधिकांश रकम प्रचण्डको योजनाअनुसार भ्रष्टाचार गरिएको उल्लेख छ। उजुरीमा माओवादीले राज्यकोषबाट ४ अर्ब हिनामिना गरेको देखिन आएकोले दोषीलाई कडा कारबाहीको माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी दर्ता गर्दै यसबारे अनुसन्धान थाल्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?