इटहरी प्रहरी र हनी ट्रयापिङ गिरोहको नजिकको सम्बन्ध सार्वजनिक

2 महीना पहिले प्रकाशित

 

काठमाडौं, कार्तिक ८ गते । धनाढ्यहरूलाई फसाउन युवतीहरूको प्रयोग गर्दै आएको हनी ट्रयापिङ गिरोहको इटहरी प्रहरीसँग निकट सम्बन्ध भएको खुलासा भएको छ। जग्गा व्यापारीलाई थुनामा राखेर रकम असुल्ने योजनामा रहेको गिरोहका मुख्य सदस्य ताज इस्लामसँग इटहरीका धेरै प्रहरीको निकटता रहेको अनुसन्धानले देखाएको छ। विशेषगरी, हवल्दार बिनोद ओझासँगको सम्बन्ध शंकास्पद मानिएको छ।

ओझा १२ वर्षदेखि इटहरी प्रहरी कार्यालयमा कार्यरत छन् र नियमित रूपमा इस्लामसँग सम्पर्कमा रहेको पाइएको छ। दर्शन पोखरेल नामक गिरोहका अर्का सदस्यसँग पनि ओझाको निकटता रहेको प्रमाण फेसबुकबाट प्राप्त भएको छ। इस्लामसहितको गिरोहले इटहरीमा व्यापारीलाई थुनेर रकम असुल्न खोजेपनि, डीएसपीको असहमति पछि उनीहरू ललितपुर आएर योजना पूरा गरेका थिए।

यस घटनामा इस्लामसहित चार जना थुनामा छन् भने इन्सपेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार छन्। सरकारी वकिल कार्यालयले एसपी कमल थापाको पनि बयान लिन निर्देशन दिएको छ, तर इन्सपेक्टरलाई फरार बनाएर एसपीलाई जोगाउन प्रयास भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?