रवि लामिछानेको पक्राउको चर्चाबीच नयाँ बानेश्वरमा सुरक्षा तैनाथी कडा

2 महीना पहिले प्रकाशित

काठमाडौँ , कार्तिक २ गते ।  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्भावित पक्राउको चर्चासँगै संसद भवन नयाँ बानेश्वरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रतिपक्षी दलहरूको बैठक चलिरहेका बेला शुक्रबार बिहान संसद भवनमा प्रहरीको उपस्थिति उल्लेखनीय रूपमा बढाइएको हो। यस बैठकमा लामिछाने समेत सहभागी छन्।

यद्यपि, प्रहरीका उच्च स्रोतले लामिछानेको सम्भावित पक्राउबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको दाबी गरेको छ। गोरखा मिडिया नेटवर्कको सहकारी रकम दुरुपयोगसम्बन्धी अनुसन्धानमा लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन तयारी भइरहेको उच्च राजनीतिक स्रोतले जनाएको छ। गोरखा मिडियाका सञ्चालकहरु सहकारीको ६५ करोडभन्दा बढी रकम अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ, जसमा एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको संसदीय छानबिन समितिले प्रतिवेदन पेश गरेको थियो।

सोही प्रकरणमा एक सञ्चालक छवि जोशी पहिले नै पक्राउ परेका छन् भने लामिछानेको समेत संलग्नता भएको आशंका गर्दै अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?