कोजाग्रत पूर्णिमा: महालक्ष्मी पूजा र मिथिला क्षेत्रको विशिष्ट परम्परा

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज ३० गते ।  आज कोजाग्रत पर्व, महालक्ष्मीको पूजा गर्दै यस वर्षको विजयादशमीको समापन गरिँदैछ। महालक्ष्मीको पूजापाठसँगै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बस्ने चलन छ। मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ भनिन्छ र यो पर्व विशेष प्रकारका परम्परासँग सम्बन्धित छ। यस दिन विवाह भएका नवजोडीका लागि विशेष महत्व राख्छ, जसमा बेहुली पक्षबाट बेहुलाको घरमा ‘भार’ पठाउने चलन छ। यसमा पान, मखान, फलफूल, दही, मिठाई, सौंफ, मुमफली र कपडासहितका विभिन्न सामग्री पठाइन्छ। पूजा सम्पन्न भएपछि बेहुलालाई चुमाउने चलन छ जसलाई ‘चुमाओन’ भनिन्छ, यो परम्परा बेहुलालाई आशीर्वाद दिने एक विशेष विधि हो।

जनकपुरधामको जानकी मन्दिरमा पनि कोजगराको अवसरमा उत्सव मनाइन्छ। यहाँ राम र सीताको प्रतीकात्मक कोजागरा गरिन्छ। यस पर्वको अवसरमा मिथिलाञ्चल क्षेत्रमा पानको विशेष महत्व छ। पानलाई धार्मिक, सांस्कृतिक र औषधीय रूपमा अत्यधिक उपयोगी मानिन्छ। पानको पात, मखान र मिठाईसहितका सामग्रीहरू यस पर्वका अनिवार्य अङ्ग हुन्। मिथिला क्षेत्रमा पान न केवल भोजभतेर र पूजामा अनिवार्य हुन्छ, तर यसलाई आदर सत्कारको प्रतीकको रूपमा पनि प्रयोग गरिन्छ। यसले मिथिला संस्कृतिमा जरा गाढेको परम्परागत महत्त्वलाई प्रतिविम्बित गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?