रक्सौलबाट उद्धार गरिएका नौ बालक परिवारको जिम्मा, मानव बेचबिखनमा संलग्न गिरोहको खुलासा
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशको जनकपुरधामस्थित प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ ले भारतको रक्सौल बेतियाबाट उद्धार गरिएका १८ वर्षमुनिका नौ जना नेपाली बालकलाई बिहीबार परिवारको जिम्मा लगाएको छ। यी बालकहरूलाई फेसबुकमार्फत नेटवर्किङ मार्केटिङको जागिर दिने भन्दै अज्ञात गिरोहले भारत बोलाएको थियो। केन्द्रका प्रमुख सञ्जीवकुमार महतोका अनुसार आठ जना बालकलाई बन्धक बनाइएको थियो भने एक जना भारतमै हराइएका थिए। भारतीय प्रहरी र बालकल्याण समितिको सहयोगमा उनीहरूलाई रक्सौलबाट उद्धार गरी 'किन इन्डिया' नामक संस्थामार्फत नेपाल ल्याइएको हो।
जनकपुर, महोत्तरी, धनुषा, सिराहा र रौतहतका बालकहरूलाई प्रहरीको उपस्थितिमा अभिभावकको जिम्मा लगाइएको छ। 'किन इन्डिया' संस्थाका निर्देशक नवीन जोशीका अनुसार २०७९ चैत १६ गते भारतीय प्रहरीले रक्सौल बेतियाको एक घरमा छापा मार्दा ७७ जना नाबालकलाई बन्धक अवस्थामा भेटिएको थियो, जसमा आठ जना नेपाली थिए। मानव बेचबिखन विरुद्ध काम गर्दै आएको दिल्लीस्थित संस्थाले नेपाली बालकहरूको जिम्मेवारी समन्वय केन्द्रसँग मिलेर सम्हालेको हो।
कमेन्ट गर्नुहोस्
view comments