अजय कुमार राई पुनः इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको विश्व कार्य समिति सदस्यमा निर्वाचित

2 महीना पहिले प्रकाशित

काठमाडौँ – इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF) को ४६औं वर्ल्ड कांग्रेसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ। अक्टोबर १३ मा बेलायतमा सुरु भएको बैठकले राईलाई आगामी पाँच वर्षका लागि, अर्थात् सन् २०२९ सम्मका लागि यो पदमा निर्वाचित गरेको हो। राई नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव हुन् र यसअघि सन् २०१८ मा सिंगापुरमा सम्पन्न ITF वर्ल्ड कांग्रेसमा पनि पहिलो पटक विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए।

ITF को सञ्जाल र गतिविधि
ITF, जसको मुख्यालय लण्डनमा रहेको छ, १४९ देशमा आफ्नो सञ्जाल फैलाएको छ र यसमा करिब दुई करोड सदस्यहरू आवद्ध छन्। यो फेडेरेशनले नागरिक उड्डयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायातजस्ता क्षेत्रका श्रमिकहरूलाई समेटेको छ। ७५० भन्दा बढी श्रमिक संगठनहरूको सहकार्यमा, ITF ले श्रमिकहरूको हक अधिकारलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO) र आईकाओजस्ता संस्थाहरूसँग मिलेर अन्तर्राष्ट्रिय कानुन बनाउने र श्रमिकहरूको हितमा गतिविधि सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?