ओली–मोदी भेटमा ऊर्जा, प्रविधि, र व्यापारका विषयमा छलफल; नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज ७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनः नेपाल भ्रमणको औपचारिक आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली र मोदीबीच न्यूयोर्कको टोते प्यालेस होटलमा साइडलाइन वार्ता भएको थियो। सो भेटमा नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने, व्यापार र ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार, प्रधानमन्त्री मोदीले नेपालको भ्रमण चाँडै गर्ने सकारात्मक मनस्थितिमा रहेको संकेत गरेका छन्।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँगको भेटघाटलाई अत्यन्तै सफल भएको भन्दै दुई देशबीचको मित्रता बलियो भएकोमा सन्तुष्टि जनाएका छन्। तर, यो वार्तामा ईपीजी र सीमा समस्याका संवेदनशील मुद्दाहरू उठाइएको थिएन। बैठकमा सहभागी एक अधिकारीले साइडलाइन वार्तामा यस्ता विषयमा चर्चा नगर्ने परिपाटी रहेको बताएका छन्। उच्चस्तरीय भ्रमणको निरन्तरता र दुई देशका प्रधानमन्त्रीबीचको नियमित संवादले नेपाल-भारत सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?