प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै

3 महीना पहिले प्रकाशित

काठमाडौं,२०८१ आश्विन ४, शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। उनी न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस वर्षको महासभाको साधारण बहसको मुख्य विषय “कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास, र मानव मर्यादाको प्रवर्द्धनका लागि सहकार्य” रहेको छ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्रमा, र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा, उनले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन्। साथै, समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्वीय खतराको उच्चस्तरीय बैठक र 'एन्टिमाइक्रोबियल' प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन्। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?