सरुवा र बढुवाका लागि कुनै दबाब आवश्यक छैन: प्रधानमन्त्री ओलीको प्रहरीलाई निर्देशन

4 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई सरुवा र बढुवाका लागि झोला थैला बोकेर कसैकोमा धाउन नपर्ने बताउँदै, जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले भ्रष्टाचारलाई ठाउँ नदिने भन्दै प्रहरीहरूलाई कुनै दौडधुप नगर्न सुझाव दिए। उनले भने, "झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन।" प्रधानमन्त्री ओलीले प्रहरीलाई पूर्ण स्वतन्त्रताका साथ आफ्नो कर्तव्य पालन गर्न ढुक्क रहन आग्रह गर्दै, अवाञ्छित प्रभावमा पर्नु नपर्ने स्पष्ट पारे। उनले भने, "तपाईँहरू कर्तव्य पालनामा स्वतन्त्र हुनुहुन्छ, कुनै पनि अनुचित दबाबको आवश्यकता छैन।"

ओलीले वर्तमान सरकार स्थिरता र विकासको लागि काम गरिरहेको बताउँदै, अपराधीलाई संरक्षण नगर्ने र निर्दोषलाई फसाउन दबाब नदिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल प्रहरीलाई अपराधको पूर्वानुमान र अनुसन्धानमा हरदम सचेत रहन र शान्ति सुरक्षा कायम राख्न दृढताका साथ लाग्न निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?