गृहमन्त्री लेखकको जोड: भ्रष्टाचार निवारण विधेयकलाई चाँडो टुंग्याएर लागू गर्नुपर्ने आवश्यकता
4 महीना पहिले प्रकाशित
काठमाडौँ,,भदौ ५ गते । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडो निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। उनले विधेयकमा उठेका विभिन्न विवादास्पद बुँदाहरूमा दफावार छलफल गरी टुंगोमा पुर्याउन आवश्यक रहेको बताए। छलफलका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्ने वा नगर्ने, निजी क्षेत्रमा अख्तियारको हस्तक्षेप, र हदम्यादजस्ता विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। मन्त्री लेखकले समितिको बुधबारको बैठकमा विधेयकमा संशोधनकर्ता सांसदहरूको धारणा सुनिसकेपछि छलफलका विषयवस्तुहरू पहिचान भइसकेको जनाए।
उनले अनुचित कार्य के हो र यसलाई कसले हेर्ने भन्ने विषयमा पनि स्पष्टता ल्याउनुपर्ने उल्लेख गर्दै, विधेयकमा नै यसको स्पष्ट व्यवस्था गर्नुपर्ने बताए। राष्ट्रिय सतर्कता केन्द्रले अनुचित कार्यको अनुगमन गरिरहेको अवस्थामा, ऐनमा अनुचित कार्यको परिभाषा र जिम्मेवारीलाई स्पष्ट पार्नुपर्ने उनको धारणा थियो। गृहमन्त्रीले भ्रष्टाचार सम्बन्धी ऐनको महत्त्वलाई ध्यानमा राख्दै समितिले यो विधेयकलाई छिटो टुंग्याएर, सभाबाट पारित गरी लागू गर्नुपर्नेमा जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments