दाहालको नयाँ योजना: माधव नेपाललाई पुनः प्रधानमन्त्री बनाउने आश्वासन
4 महीना पहिले प्रकाशित
काठमाडौं, साउन ३० गते । आफ्नै पार्टीभित्रको तीव्र आलोचनासँग जुधिरहेका बेला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुनः प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन्। माओवादी केन्द्रको जारी स्थायी समितिको बैठकमा अध्यक्ष दाहालको चर्को आलोचना भइरहेको छ। दाहालमाथि सरकारको स्थिरता कायम राख्न नसकेको, राजनीतिक समीकरण बिगारेको, बारम्बार कुरा फेरेर गठबन्धन दलहरूको विश्वास गुमाएको, र पार्टीलाई कमजोर बनाएको आरोप लागिरहेका छन्। यस्तै परिस्थितिमा दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका हुन्।
दाहालले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण गरी, बलियो शक्ति निर्माण गर्दै नेपाललाई प्रधानमन्त्री बनाउने योजना अघि सारेका छन्। हाल माओवादी र एकीकृत समाजवादी दुबै कमजोर अवस्थामा छन्। दुवै दललाई एकीकृत गर्न सके आगामी निर्वाचनमा केही फाइदा हुने दाहालको बुझाइ छ। यही सोचका साथ उनले नेपाललाई प्रधानमन्त्री बनाउने वाचा गरेका हुन्। माधव नेपाल पनि प्रधानमन्त्री बन्ने इच्छा राखिरहेका छन्। उनी हालको संसद्बाटै प्रधानमन्त्री बन्ने दौडमा थिए, तर कांग्रेस र एमालेबीचको गठबन्धन बनेपछि उनको सम्भावना लगभग समाप्त भएको छ। तर, दाहालले नयाँ राजनीतिक समीकरण बनाउन सके नेपाललाई प्रधानमन्त्री बन्ने केही सम्भावना रहेको देखिन्छ। हाल दाहाल र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध कायम रहेको छ, र उनीहरू समाजवादी मोर्चा सञ्चालन गर्दै आएका छन्। विपक्षी दलहरूसँग सहकार्य गर्दै अघि बढ्नेमा दुबै नेता सहमत छन्। पार्टी एकताको विषयमा पनि बारम्बार छलफल भइरहेको छ, तर अहिलेसम्म टुंगो लाग्न सकेको छैन। दाहालको प्रस्तावलाई नेपालले सामान्य रूपमा लिएको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments