मन्त्री भण्डारीको निर्देशन: प्रभावकारी ढंगले काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइने चेतावनी
5 महीना पहिले प्रकाशित
काठमाडौं, साउन २८ गते। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मातहतका निकायलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन्।
देशमा रहेको निराशा र अन्योलतालाई तोड्न सक्ने गरी काम गर्नुपर्ने बताउँदै उनले यसो गर्न असमर्थ हुने कर्मचारीलाई जिम्मेवारीबाट हटाइने चेतावनी पनि दिएका छन्।
सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेका प्रश्नहरूको उचित जवाफ दिनुपर्ने कुरामा कर्मचारीहरूलाई सचेत गराए।
प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पादन गरिसक्नुपर्ने कामको विवरण सबै मन्त्रालयसँग माग गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसकेको जानकारी दिए र यसलाई पूरा हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई विशेष ध्यान दिन आग्रह गरे।
उनले परिणाममुखी काम गर्ने कर्मचारीहरूको सेवा र सुविधामा वृद्धि गर्न तयार रहेको र यदि त्यस्तो नहुने भए जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने स्पष्ट पारे।
मन्त्री भण्डारीले कर्मचारीहरूको सेवा र सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक रूपमा परिणाम दिनेगरी काम गर्नुपर्नेमा जोड दिए।
साथै, उनले मन्त्री, सचिवलगायत सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्यांकन गरिने जानकारी पनि दिए।
कमेन्ट गर्नुहोस्
view comments