गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिव मिश्रीको भेट: द्विपक्षीय हित र सुरक्षा साझेदारीमा छलफल

5 महीना पहिले प्रकाशित

काठमाडौं,साउन २८ गते ।  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै विदेश सचिव मिश्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे। उनले भारतलाई नेपालको सुरक्षा, पूर्वाधार, ऊर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदारको रूपमा वर्णन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि र पूर्वाधार निर्माणमा भारतले पुर्याएको सहयोगका लागि विदेश सचिव मिश्रीलाई धन्यवाद दिए।

त्यस अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउन विशेष जोड दिएको जनाइएको छ।

भेटमा भारतीय विदेश सचिव मिश्रीले सीमा व्यवस्थापन, सीमापार अपराध र दुवै मुलुकका नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र भारतको तर्फबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारको तर्फबाट सक्दो सहयोग गरिने बताए।

सचिव मिश्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे। सांस्कृतिकलगायत धेरै समानता रहेको भन्दै उनले आगामी दिनहरूमा नेपाल-भारत सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरे।

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्। विदेश सचिव मिश्री आजै स्वदेश फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?