मधेश प्रदेशसभा बैठक अवरुद्ध पारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले
1 वर्ष पहिले प्रकाशित
२०८० असार २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले मधेश प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । अर्थमन्त्री सञ्जय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।
एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मात्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो ।
प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने प्रतिपक्षी दलले अडान राखेपछि बैठक अवरुद्ध भएको हो । एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । बैठक स्थगित भएपछि प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेका सांसदहरुसँग छलफल भइरहेको छ । प्रदेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा प्रदेशसभा बैठक बस्न लागेको हो ।
शनिबारको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र त्यसपछि पुनः अर्थमन्त्री यादवले प्रदेश सरकारको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments