स्थानीय तह निर्वाचनका लागि आज र भोलि देशैभर मनोनयन दर्ता

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख ११ गते ।आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि देशैभर मनोनयन दर्ता हुँदैछ।निर्वाचन आयोगले आज र भोलि बिहन १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेको छ।

देश भरका ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरेर ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्। उम्मेदवार बन्न चाहनेले तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ।

आज र भोलि दर्ता हुने उम्मेदवारीबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्न सकिने छ भने १४ र १५ गते उजुरी उपर जाँचबुझ गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

२०७४ सालमा तीन चरणमा गरिएको स्थानीय तह निर्वाचन यस पटक देशैभरि एकै चरणमा हुन लागेको हो।

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ।उम्मेदवार बन्ने व्यक्ति सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।

सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएका व्यक्ति स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन् ।

स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १ हजार ५ सय रुपैयाँ धरौटी निर्धारण गरिएको छ। त्यसैगरी वडाअध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। महिला, दलित तथा अल्पसङ्ख्यक समुदायका वा विपन्न उम्मेदवारलाई धरौटी रकममा आधा छुट हुने व्यवस्था आयोगले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?